Friday, June 26, 2015

एक एक मिलेर हजार बन्छ

एक एक मिलेर हजार बन्छ, थोपा थोपा मिलेर सागर बन्छ, व्यक्ति व्यक्ति मिलेर समाज बन्छ अनि समाज समाज मिलेर राष्ट्र बन्छ। त्यसैले सबल राष्ट्र बन्न को लागि स्वच्छ र समतामुलक समाज बनाउनु जरुरि छ, जुन काम हामी  समाजका प्रत्येक व्यक्तिको हो। तसर्थ समाज र राष्ट्र सुध्रिनको लागि हामी  सबैजना सुध्रिनु पर्छ, प्रत्येक व्यक्तिमा सकारात्मक सोच र बदलिने सक्ने क्षमता आउनुपर्छ । सुरुवात आफैँबाट गर्नुपर्छ, अनि मात्र अरुलाई औंला ठड्याउन सकिन्छ । त्यसैले हामीमा एउटा बलियो अठोट चाहिन्छ, त्यो हो आफ्नो व्यक्तिगत सोचलाई बदल्ने, त्यो हो आफुमा भएको नकारात्मकतालाई स्वीकार्ने अनि सकारात्मक सोच बोकेर अगाडि बढ्ने। विकासको ठूलो खुड्किलो उक्लनु भनेको आफूलाई सकारात्मक्ता तिर  बदल्नु नै हो, पुराना सोच नबद्ले सम्म म नयाँ सोचलाई स्थान दिन सक्दिन अनि त्यहि पुरानो ममा मैले विकास भेट्न सक्दिन । यो गुदि कुरो हामी सबैले बुझ्नु र स्विकार्नु पर्छ । विकासलाई बोक्नु अगाडि परिबर्तनलाई पनि बोक्न सक्नुपर्छ, परिबर्तनलाई बोक्न डराउने हो भने विकासलाई बोक्न पनि सकिन्न। सर्बप्रथम हामी सबैले यो कुरा बुझौं र एकपटक  मनन गरौँ ।

"Insanity is doing the same thing again and again and expecting the different results." अर्थात   पुरानै शैलीका काम बारम्बार गरेर नयाँ नतिजा पाउने आशा गर्नु फगत पागलपन मात्र हो, यो अल्बर्ट आइन्स्टाइन को भनाइ हो । यसमा पनि त्यहि गुदि सत्य उल्लेखित छ।  त्यसैले प्रत्येक दिन मैंले आफैंलाई प्रश्न गर्छु "के म आज हिजोभन्दा प्रगतिशील छ कि छैन ?, हिजो भन्दा परिबर्तित छ कि छैन?", यी  प्रश्नका उत्तर सकारात्मक आए भने म विकासतर्फ उन्मुख छु। यो कुरा तपाइँमा पनि लागू हुन्छ अनि हाम्रो देशमा पनि ।

म र तपाइँ परिबर्तन हुनु, म र तपाइँ प्रगतिशील हुनु भनेको हाम्रो समाज परिबर्तन हुनु हो, हाम्रो समाज प्रगतिशील हुनु हो किनकि हाम्रो समाजको निर्माता  हामी आफै नै हौं । अनि हाम्रो समाज प्रगतिशील हुनु भनेको देश प्रगतिशील हुनु हो अनि संसार प्रगतिशील हुनु हो। त्यसैले एक एकले आफ्नो दायित्वबोध गर्नेपर्छ, आफ्नो दायित्वबाट पन्छिनु भनेको आफ्नो उत्साह र क्षमता बाट भाग्न खोज्नु हो, त्यसले हाम्रो सन्ततिलाई नकारात्मक प्रगतितिर धकेल्छ अनि हामी सधै पछाडि नै रहन्छौं।  त्यसैले हामी प्रत्येकले थोरै मात्र भए पनि आफ्नो सामाजिक दायित्व बोध गरौँ । हामी आफुले आफुलाई  यी प्रश्नहरु सोधौं   र आफै संग जवाफ खोजौं - 'मेरो समाज कस्तो छ र यो समाजमा मेरो दायित्व के हो ?', 'के मैले समाज निर्माणमा सकारात्मक भूमिका निर्बाह गरेको छु ?'  'के शिक्षित र प्रगतिशील समाज हुनु पर्दैन ?' यी प्रश्नका जबाफहरु सबै संग सकारात्मक नै हुन्छन किनकि सबैको चाहना एउटा सबल र समुन्नत राष्ट्र अनि एउटा प्रगतिशील र दक्ष्य समाज देख्ने छ।  त्यसमा जाने बुझेका, अनुभव बटुलेका र कर्मशीलले अलि धेरै रूपमा भूमिका निर्बाह गर्न सक्छन।  त्यसको एउटा उदाहरण हो समाजमा  चेतना बाँड्नु र सबैलाई कर्म गर्न प्रोत्साहन  गर्नु।

सचेतना नै समाज निर्माणको सबैभन्दा ठुलो हतियार हो।  सदैब सचेत रहनु र आत्म-समीक्षा गर्न सक्नु एउटा सफल व्यक्तिको गुण हो।  सचेतना र आत्म-समीक्षाले नै हामीलाई कर्मठ र प्रगतिशील बनाउँछन्। त्यसैले यो ब्लग पढ्नु हुने सबैजनालाई  हामी एकपटक आफ्नो सामाजिक र राष्ट्रिय  भूमिकाको बारेमा  आत्म-समीक्षा गर्नु हुन आग्रह गर्दछौं किनकि सफलता र चेतना दुवै आफैबाट सुरु हुने हो, प्रेरणा मात्र अरु संग लिन सकिन्छ।  हामी त्यहि सोचले यो ब्लग सुरु गर्दैछौं, जहाँ हामी हामीले सिकेका, जानेका, पढेका, अनुभव गरेका, अनुसन्धान गरेका अनि देखेका सामाजिक र आर्थिक सुधारका कुराहरु  तपाईंहरु संग बाँड्न चाहन्छौं।  तपाईंहरु पनि आफुले जानेका र अनुभव गरेका कुराहरु हामी र अरु पाठकहरु संग साटासाट गर्न सक्नुहुन्छ ।

हामी  सबैसंग प्रतिक्रिया लिएर समाज  विकास र सामाजिक सुधारमा सकारत्मक रुपले लागिपर्न सधै झक्झकाउने छौं। हामी नेपालको परिप्रेक्षमा सामाजिक र आर्थिक विकास कसरी गर्न सकिन्छ ?, पुष्ट र स्वच्छ अनि सबल समाज निर्माणमा बिज्ञान प्रबिधि र अनुसन्धानको आवश्यकता कति छ ? छिटो, दक्ष्य र बैज्ञानिक हिसाबले काम कसरी गर्न सकिन्छ ? ग्रामीण र सहरी बिकासमा के के योजनाहरु समेट्नु उपलब्धिमुलक हुन्छ ? शिक्षा र स्वास्थ्यमा के के रणनीति अति आवस्यक छन् ? संसारको अरु देशमा कस्तो कस्तो सामाजिक बिकासका परियोजना छन् ? भन्ने जस्ता गहन बिसयहरु यो ब्लगमा समेट्ने छौं। र  हामी हाम्रो तर्फबाट कसरी समाजलाई आवश्यक सहयोग दिन सक्छौं र तपाईंहरु आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सक्नुहुन्छ भन्ने कुराहरुको पनि सुझाब र जानकारी दिने छौं। सामाजिक र आर्थिक बिकासमा हामी हरप्रकारले हाम्रो भूमिका निर्बाह गर्न लागिपर्नेछौं।

युवा पुस्ताको सोच, साथ र उत्साहले नै देशले काँचुली फेर्छ भन्ने हाम्रो ठोकुवा छ।  त्यसैले  के अब हामी जाग्ने समय भएन र ? आफु आफु मिलेर समुन्नत समाज बनाउने बेला भएन र ? राम्रा व्यक्तिहरुले, देशको भलो चिताउने व्यक्तिहरुले आ-आफ्नो दायित्व बहन गरेर राष्ट्रनिर्माणमा लागौं, नराम्राहरु बिस्तारै राम्रोमा परिणत हुदै जान्छन्। यही भावनालाई आत्म-सात गर्दै हामी सबै अगाडी बढौं। सबैलाई शुभ कार्यमा हाम्रो मुरी मुरी शुभकामना छ।